झुट्टा प्रमाणपत्र पेस गरेकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३१ भदौ । झुट्टा विवरण पेस गरेर शिक्षकमा नियुक्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिलाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा, पर्सामा स्थानीय उर्मिला देवीले म्याट्रिक सर्टिफिकेट तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।
उर्मिलाले शिक्षक पदमा नियुक्ति लिनका लागि भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट जारी भएको भनी झुट्टा विवरण पेस गरेर २०६६ चैत्र ०२ देखि २०६७ असार २५ गतेसम्म उक्त विद्यालयमा अध्यापन गरेको अख्तियारको अनुसन्धानका क्रममा खुलेको छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गर्दै आज विषेश अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुट्टा विवरण दिएमा वा सोसम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।

