आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो कम्युनिष्ट पार्टी बन्ने प्रचण्डको दाबी

काठमाडौं, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गरेका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताए । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए ।
उनले माओवादी नेता, कार्यकर्ताहरूले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहिनेत नगरेको पनि बताए ।प्रचण्डले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिस्ट पार्टी बन्ने बताए ।
उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले पार्टी अघि बढ्ने बताए ।
अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई वैचारिक ढङ्गले परिमार्जन गर्न आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


