काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले बागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

उनले तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए ।

उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी गरे ।

उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताए ।