नगर प्रमुख खाणको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल, २९ भदौ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ४ हजार रुपैयाँका दरले छात्रवृत्ति बाँडेका हुन् ।
निर्वाचन घोषणापत्रमा खाणले आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिवद्धता जनाएका थिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए ।
यसअघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुखका रुपमा पाएको ५ वर्षे कार्यकालको सबै सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।
घिमिरेले स्थापना गरेको नगर प्रमुख छात्रवृत्ति कोषमा जम्मा भएको रकममा हालका नगर प्रमुख खाणले २ महिनाको सेवा सुविधा थपेर छात्रवृत्ति वितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


