निलम्बित प्रधानन्यायाधीश जबराले लगाएका आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

काठमाडौं, २९ भदौ । पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आवद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाभियोग सिफारिस समितिसमक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आफूमाथि लगाएको महाभियोगको आरोपपत्रका सम्बन्धमा सफाइ पेस गर्ने प्रयोजनका लागि गलत बयान दिएको दाबी गरेका छन् ।
न्यायालयको शुद्धीकरण र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुनबमोजिम दर्ता भई कार्यरत संस्थामा आवद्ध पूर्वन्यायाधीशको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधानन्यायाधीशको बयानप्रति पूर्वन्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्वन्यायाधीश फोरमसँग आवद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्नसमेत चुनौती छ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


