काठमाडौं, २८ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् ।

मंगलबार काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यावसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताएकी हुन् ।

त्यस अवसरमा उनले सो भवन महिलालाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वाससमेत व्यक्त गरिन् । मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले सञ्चालन गर्न समाज कल्याण परिषदका पदाधिकारीलाई निर्देशनसमेत दिइन् ।

मन्त्री रेग्मीले महिलाको दक्षता अभिवृद्धि गरी उनीहरूलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिइन् ।