एमालेको नेतृत्वमा सरकार नबने देश बर्बादीतर्फ जान्छ : अध्यक्ष ओली

जनकपुरधाम, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरेका छन् ।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले राजनीतिक, धार्मिक र सामाजिक सांस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको जिकिर गरे । अध्यक्ष ओलीले राष्ट्रियताको हिसाबले पनि गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए ।
उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबीसमेत गरे । उनले भने, ‘मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन् ।’
ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने जिकिर गरेका छन् ।
सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरेका छन् ।
उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन । मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर्छ । यदि एमालेको नेतृत्वमा सरकार बन्न सकेन भने देश बर्बादीतर्फ जान्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


