काठमाडौं, २७ भदौ । काठमाडौंको कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा दुईजना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् ।

कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले गरेको धरपकडमा ३ जना घाइते भएका छन् । प्रहरीले पीडितहरू १५ जनालाई पक्राउ गरेको छ ।

मिटरब्याजी साहुबाट ठगीमा परेका व्यक्तिहरू आन्दोलन गर्न काठमाडौं आएको ४१ औँ दिन पुगेको छ । उनीहरू ४१ दिनदेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

मिटरब्याजी पीडितहरू कीर्तिपुरमा टहरा बनाएर बसिरहेका छन् । तर, आज बिहानै उनीहरू बसेको टहरा प्रहरीले घेरेको थियो । ४१ औँ दिनको धर्नाका लागि माइतीघर मण्डला जाने तयारी गरिरहेका पीडित किसानलाई प्रहरीले हस्तक्षेप गरेको पीडितका पक्षका एक जनाले बताए ।

संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता, सदस्य निर्ग नवीन लगायत १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।