निर्वाचनका लागि गृहले तयार गरेको एकीकृत सुरक्षा योजना पारित

काठमाडौं, २६ भदौ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित भएको छ ।
आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो योजना पारित गरेको गृहका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।
पोखरेलले भने, ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको छ, तिन तहमा सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ, सुरक्षाकर्मीको संख्या यकिन हुन बाँकी छ ।’
निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या यकिन गरिने पोखरेलले जानकारी दिए । निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।
त्यस्तै, बेमौसमी विपद् आएको विश्लेषण गरेर केन्द्रीय सुरक्षा समितीले आ–आफ्नो निकायबाट प्रभावकारी प्रतिकार्य गर्न निर्देशन दिएको छ । दार्चुलामा शुक्रबार राती गएको बाढी पहिरोमा परि घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ ।
सोमबारबाट नेपाल भ्रमणमा आउन लागेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लि झानसुको सुरक्षा मजबुद बनाउने निर्णय गरिएको छ । सुरक्षा प्रमुखहरुले भ्रमणको सुरक्षा तयारीबारे बैठकमा जानकारी गराएका थिए ।
बैठकमा गृहसचिव टेकनाराण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र सह–सचिव पोखरेल सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


