कांग्रेसको विद्रोही समूहद्वारा प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा

चितवन, २६ भदौ । नेपाली कांग्रेस चितवनको विद्रोही समूहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई चुनौती दिने तयारी थालेको छ ।
कांग्रेस शुद्धीकरण अभियान नामको उक्त समूहले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको नाममा कांग्रेसले उम्मेदवारी नदिएका ठाउँमा बागी उम्मेदवारी खडा गर्ने घोषणा गरेको हो ।
चितवनका ३ प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा मध्ये कांग्रेसका उम्मेदवार नभएको क्षेत्रमा बागी उम्मेदवारी दिने कांग्रेसको विद्रोही समूहको अडान छ । यो समूहले गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा जगन्नाथ पौडेललाई विद्रोही खडा गरेको थियो ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा उम्मेदवारी दिने कांग्रेस विद्रोही समूहको रणनीति तयारी छ ।
पौडेलले चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बनेको भन्दै रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गरिने बताए । कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन ३ मा कांग्रेसको उम्मेदवारी नभएमा आफूहरुको उम्मेदवारी हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


