मधेस प्रदेश : ७३ महिनामा ४७ सय बढीले गरे आत्महत्या

जनकपुरधाम, २५ भदौ । शनिवार विश्व आत्महत्या रोकथाम दिवस ‘आशा जगाऔँ जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइएको छ ।
सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को संयोजनमा विश्व आत्महत्या रोकथाम दिवसको स्थापना गरेको थियो ।
सो वर्षदेखि १० सेप्टेम्बरमा यो दिवस मनाइने गरेको छ । आत्महत्या निरुत्साहित गर्नका लागि जनचेतना जगाउने अवसरको रुपमा नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।
विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले आत्महत्या विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गदै प्रत्येक वर्ष यो दिवस मनाइरहँदा मधेस प्रदेशमा भने आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।
मधेसका आठवटै जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ४ हजार ७८३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको हो ।
यस प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा ५८० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा सो संख्या बढेर ६३६ पुगेको थियो भने २०७५/७६ मा भने ७१७ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांक छ ।
आर्थिक वर्ष २०७६/७७ मा भने आत्महत्या गर्नेको संख्या ८१७ पुग्यो भने २०७७/७८ मा ९५९ जनाले आत्महत्या गरे । त्यस्तै, गत वर्ष अर्थात २०७८/७९ मा मात्र १ हजार १८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकमा देखाइएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को एक महिनामा मात्र ५६ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । उनले साउन महिनामा ९ बालबालिकासहित ५६ जनाले आत्महत्या गरेको बताए ।
२०७८/७९ मा सिरहामा सबभन्दा बढी १९० जनाले आत्महत्या गरेका थिए । यस्तै धनुषामा १४८, बारामा १४५, महोत्तरीमा १४२, सप्तरीमा १३३, पर्सा र रौतहटमा १००/१०० र सर्लाहीमा ६० जनाले आत्महत्या गरेका थिए ।
नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा सन् २०१५ देखि २०३० सम्ममा प्रति एकलाख जनसंख्यामा आत्महत्याको दरलाई ४.७ प्रतिशतमा ल्याउने लक्ष्य राखिएको छ ।
आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य मानिएको छ । मानिसक स्वास्थ्य उपचारमा पहुँच बढाउनका लागि काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इन.सी.डी तथा मानसिक स्वास्थ्य शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


