जनकपुरधाम, ०८ असोज । जनकपुरधाममा कारको ठक्करबाट गम्भीर घाइते भएका सर्लाहीका एक इ–रिक्सा चालकको उपचार तथा न्यायको प्रक्रियालाई लिएर पीडित परिवारले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ ।

दुर्घटनापछि प्रहरीले कार चालकलाई हाजिरी जमानीमा छाडेको र त्यसपछि पटकपटक आग्रह गर्दा पनि आरोपित पक्षले घाइतेको उपचार तथा हेरचाहमा कुनै सहयोग नगरेको पीडित परिवारको आरोप छ ।

सर्लाहीको पर्सा गाउँपालिका–५ का करिब ५० वर्षीय कैलाश महतो सुडी जनकपुरधाममा इ–रिक्सा चलाउँदै आएका थिए । गत असोज ४ गते बेलुका करिव ६ बजे जनकपुरधाममा इ–रिक्सा चलाउने क्रममा उनलाई कारले ठक्कर दिएको भन्दै उनका छोरा विक्रम महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

पीडित परिवारका अनुसार महतोले चलाइरहेको मधेश प्रदेश ०२–००१ ह ३६६२ नम्बरको इ–रिक्सालाई पछाडिबाट साइड लिने क्रममा बिआर ०६ इएफ ४६८० नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट महतोको टाउको, नाक, दाँत तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

उजुरीमा जनकपुरधाम उपमहानगरपालिका–२ बस्ने विजय कर्णका छोरा २२ वर्षीय आदित्य कर्णले कार चलाएको उल्लेख गरिएको छ । घटनापछि घाइते महतोको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । पछि प्रहरीले उनको चोटपटकको औपचारिक परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधामलाई समेत पत्राचार गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको उजुरी तथा छानबिन शाखाले असोज ५ गते प्रादेशिक अस्पताल जनकपुरधामलाई पत्र पठाउँदै कैलाश महतोको घाउ जाँच गरी प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरेको थियो । प्रहरीको पत्रमा महतोले आफ्नो शरीरमा लागेको चोटपटक जाँच गरिपाऊँ भनी निवेदन दिएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १६ तथा दफा २२ को उपदफा २ सँग सम्बन्धित ढाँचामा घाउ जाँच गर्न भनिएको छ ।

त्यसको भोलिपल्ट अर्थात् असोज ६ गते जिल्ला प्रहरी कार्यालय धनुषाको उजुरी तथा छानबिन शाखाले वडा प्रहरी कार्यालय रेल्वेलाई अर्को पत्र पठाउँदै घटनामा विपक्षी बनाइएका आदित्य कर्णलाई अनुसन्धानका क्रममा आवश्यक कुरा बुझ्नका लागि उपस्थित गराउन भनेको छ ।

परिवारका अनुसार दुर्घटनापछि कार चालक कर्णलाई प्रारम्भिक प्रक्रियापछि हाजिरी जमानीमा छाडिएको थियो । आफूहरूलाई घटनाको अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्ने विश्वास भए पनि आरोपित छुटेपछि घाइतेको उपचार र अवस्थाबारे कुनै चासो नदेखाएको उनीहरूको आरोप छ ।

पीडित परिवारका अनुसार अस्पतालमा कैलाश उपचाररत रहँदा आरोपित पक्षबाट न उपचार खर्चमा सहयोग भयो, न बिरामीको अवस्थाबारे बुझ्न आउने वा हेरचाह गर्ने प्रयास नै भयो । दुर्घटनाबाट घाइते भएका कैलाशको उपचारमा परिवारले आफ्नै स्रोतबाट खर्च व्यवस्थापन गर्नुपरेको उनीहरूको भनाइ छ ।

‘दुर्घटना भएपछि बुबा अस्पतालमा उपचार गराइरहनुभएको छ । तर, आरोपित पक्षले अहिलेसम्म उपचारमा कुनै सहयोग गरेको छैन । बिरामीको अवस्था बुझ्नसमेत आएको छैन,’ घाइतेका छोरा विक्रमको गुनासो छ ।

परिवारका अनुसार कैलाशको टाउकोमा चोट लागेकाले दुर्घटनापछि पनि उनलाई पटकपटक चक्कर आउने समस्या भइरहेको छ । टाउकोमा लागेको चोटका कारण नियमित स्वास्थ्य परीक्षण र उपचार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

दुर्घटनाबाट टाउको, नाक, दाँतलगायत शरीरका विभिन्न भागमा चोट लागेका कैलाशलाई अस्पतालमा राखेर उपचार गराउनुपरेपछि परिवारमा आर्थिक भारसमेत थपिएको पीडित पक्षले जनाएको छ । तर, आरोपित पक्षबाट कुनै सहयोग नपाउँदा उपचार खर्च जुटाउनसमेत समस्या भइरहेको परिवारको गुनासो छ ।

पीडित परिवारले प्रहरीको अनुसन्धान प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ । उनीहरूका अनुसार दुर्घटनाको विषयमा प्रहरीमा निवेदन दिएर आरोपितमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिए पनि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आनाकानी गरेको महसुस भएको छ ।

परिवारका अनुसार सुरुमा हाजिरी जमानीमा छाडिएका आरोपितलाई पछि अनुसन्धानका लागि नियन्त्रणमा लिन आग्रह गर्दा पनि प्रहरीले तत्काल कदम नचालेको आरोप छ ।

यद्यपि, प्रहरीको आधिकारिक पत्राचार हेर्दा घटनालाई लिएर अनुसन्धानको प्रक्रिया अघि बढाइएको देखिन्छ । प्रहरीले आरोपितलाई अनुसन्धानका क्रममा आवश्यक कुरा बुझ्न वडा प्रहरी कार्यालय रेल्वेमार्फत उपस्थित गराउन खोजेको छ भने घाइतेको घाउ जाँचका लागि अस्पताललाई समेत पत्राचार गरेको छ ।

तर, पीडित परिवारको प्रश्न भने अनुसन्धानको प्रक्रिया मात्रै नभई घाइतेको उपचार र आरोपितको जिम्मेवारी सुनिश्चित गर्ने विषयमा प्रहरीको सक्रियता कति छ भन्नेमा केन्द्रित छ । परिवारले प्रहरीसमक्ष दुर्घटनाको निष्पक्ष अनुसन्धान, आरोपितको भूमिकाको छानबिन, घाइतेको उपचार खर्च तथा कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

दुर्घटनापछि कैलाशको स्वास्थ्यमा समस्या देखिएको र टाउकोमा अझै चक्कर आउने गरेको परिवारको भनाइ छ । उनी इ–रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका कारण दुर्घटनापछि काम गर्न नसक्दा परिवारको आम्दानीमा समेत असर परेको उनीहरूको गुनासो छ ।

एकातर्फ घाइतेको उपचारमा खर्च भइरहेको छ भने अर्कोतर्फ नियमित आम्दानीसमेत प्रभावित भएको परिवारको भनाइ छ । यस्तो अवस्थामा दुर्घटनामा संलग्न पक्षबाट उपचार तथा आवश्यक सहयोगसमेत नपाउँदा पीडित परिवार थप समस्यामा परेको बताउँछ ।

‘बुबा घाइते भएपछि हाम्रो परिवार नै समस्यामा परेको छ । उहाँलाई अझै टाउकोमा चक्कर आउँछ । अस्पतालमा उपचार र हेरचाह गर्नुपरेको छ । तर, दुर्घटना गराउने भनिएका व्यक्तिबाट कुनै सहयोग छैन,’ विक्रमको भनाइ छ ।

पीडित परिवारले प्रहरीसँग पनि अब घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । दुर्घटनापछि आरोपितलाई हाजिरी जमानीमा छाडिएको, त्यसपछि उपचारमा कुनै सहयोग नगरेको र प्रहरीसमक्ष पटकपटक आग्रह गर्दा पनि पक्राउ तथा अनुसन्धानमा ढिलाइ भएको पीडित परिवारको आरोप छ ।

यता, दुर्घटनामा संलग्न कार चालक आदित्य कर्णका पिता विजय कर्णले आफूहरुले घाइते कैलाशको उपचारमा कुनै कसर बाँकी नराखेको र उनी पूर्णरुपले स्वस्थ नभएसम्म उनको उपचार जारी रहने बताएका छन् ।

उनले दुर्घटनमा क्षतिग्रस्त भएको महतोको इ–रिक्सा पनि मरम्मत गरेर उनको जिम्मा लगाउने प्रतिबद्धता जनाएका छन् ।