जनकपुरधाम, ०७ असोज । मधेश प्रदेश सरकारले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल प्रदान गरेको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले उपलब्ध गराएका मोटरसाइकलको साँचो सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षकहरूलाई हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले १२५ सीसी क्षमताका सुपर स्प्लेन्डर मोटरसाइकल उपलब्ध गराएको जनाएको छ ।

मोटरसाइकल हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले जनताको जीउधनको सुरक्षा, अपराध नियन्त्रण, भन्सार चोरी नियन्त्रण तथा विपद्का समयमा उद्धार र राहतका काममा मोटरसाइकल उपयोगी हुने बताए ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराउँदै आएको साधनस्रोतको अधिकतम उपयोगबाट शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा सहयोग पुगेको बताए ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरप्रसाद लेखकसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

मन्त्रालयका अनुसार बिहीबार सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, अपराध नियन्त्रण तथा भन्सार छली नियन्त्रणका लागि थप २० थान मोटरसाइकल प्रदान गरिनेछ ।

यसअघि पनि प्रदेश सरकारले मधेशका आठवटै जिल्लाका प्रहरीलाई प्रहरी भ्यान, सीसीटीभी तथा विभिन्न सञ्चार उपकरणलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ ।