जनकपुरधाम, ०८ असोज । मौसममा प्रतिकूल अवस्था देखिन सक्ने पूर्वानुमानसँगै धनुषाको बटेश्वर गाउँपालिकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले असोज ९ गतेदेखि ११ गतेसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भन्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनामा असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा प्रतिकूल मौसमको सम्भावना रहेकाले सम्भावित विपद्बाट जोगिन पूर्वतयारी गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

गाउँपालिकाले असोज ८ गतेदेखि १२ गतेसम्म अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । पहिरोको जोखिम भएका राजमार्ग तथा सडकखण्डमा विशेष सावधानी अपनाउन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन यात्रा बन्द वा स्थगित गर्नसमेत अनुरोध गरिएको छ ।

बाढीको जोखिम रहेका नदी, खोला तथा ताल आसपासका बासिन्दालाई जलसतहको अवस्था निरन्तर निगरानी गर्न र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान सक्ने गरी आवश्यक व्यवस्था मिलाउन गाउँपालिकाले आग्रह गरेको छ ।

वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले किसानलाई समेत विशेष सावधानी अपनाउन भनेको छ । पाकेको धान तथा अन्य बाली भित्र्याउने काम तत्कालका लागि स्थगित गर्न वा भित्र्याइसकेको बालीलाई सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ ।

सम्भावित विपद्का बेला आवश्यक उद्धार तथा सूचनाका लागि गाउँपालिकाले आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ । मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १०१० मा सम्पर्क गर्न सकिने जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समेत आवश्यक समन्वय गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेलको ९८५४०६०४१२, विपद् फोकल पर्सनको ९८०९६०७१४५ तथा सूचना अधिकारीको ९८५४०५०९०४ नम्बरमा पनि आवश्यक सूचना तथा समन्वयका लागि सम्पर्क गर्न सकिने जनाएको छ ।

गाउँपालिकाले मौसमसम्बन्धी अद्यावधिक विवरणका लागि जल तथा मौसम विज्ञान विभागका आधिकारिक माध्यमबाट नियमित सूचना लिनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

भारी वर्षा, चट्याङ, हावाहुरी तथा सम्भावित बाढीका कारण स्थानीयस्तरमा जनधन तथा कृषि क्षेत्रमा क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले पूर्वतयारी र सावधानीलाई प्राथमिकता दिन आग्रह गरेको हो ।