मधेश सरकारले सशस्त्र प्रहरीलाई दियो २० थान मोटरसाइकल
जनकपुरधाम, ०८ असोज । मधेश प्रदेश सरकारले सीमा सुरक्षा, शान्ति सुरक्षा तथा नियमित गस्तीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो तथा ब्लुबुक हस्तान्तरण गरेका हुन् ।
प्रदेशका सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थितिलाई थप प्रभावकारी बनाउन सवारीसाधन उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । विशेषगरी सीमा क्षेत्रमा हुने नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनमा मोटरसाइकलको प्रयोगले सहजता ल्याउने विश्वास गरिएको छ ।
मधेश प्रदेशमा भारतसँग लामो खुला सीमा जोडिएका कारण सीमा सुरक्षा तथा नियमित गस्तीलाई चुनौतीपूर्ण मानिँदै आएको छ । यस्तो अवस्थामा सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रदेश सरकारको योजनाअन्तर्गत मोटरसाइकल हस्तान्तरण गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्री महतोका अनुसार प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक पर्ने थप सवारीसाधन उपलब्ध गराउने तयारीसमेत अघि बढाएको छ । आवश्यकताका आधारमा थप १० थान मोटरसाइकल सम्बन्धित स्थानमा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको उनले बताए ।
मन्त्री महतोले प्रदेशको शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउनु प्रदेश सरकारको प्राथमिकतामध्ये एक रहेको बताए । सुरक्षा निकायसँग पर्याप्त साधन भएमा नियमित गस्ती, सीमा निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न सहज हुने उनको भनाइ थियो ।

यसअघि बुधबार मात्रै मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको थियो । सशस्त्र प्रहरीलाई थप २० मोटरसाइकल उपलब्ध गराएसँगै प्रदेश सरकारले पछिल्लो समय सुरक्षा निकायको गतिशीलता बढाउन सवारीसाधन उपलब्ध गराउने क्रमलाई तीव्रता दिएको छ ।
प्रदेश सरकारका अनुसार उपलब्ध गराइएका सवारीसाधन आवश्यकताका आधारमा सुरक्षा निकायका विभिन्न कार्यालय तथा क्षेत्रमा परिचालन गरिनेछन् । यसबाट विशेषगरी सीमावर्ती क्षेत्रमा नियमित गस्ती तथा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा सीमा अपराध, चोरी तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाका लागि सुरक्षा निकायको नियमित गस्ती महत्वपूर्ण मानिन्छ । त्यसका लागि आवश्यक जनशक्तिसँगै पर्याप्त सवारीसाधन र अन्य स्रोतसाधनको उपलब्धता पनि महत्वपूर्ण हुने सुरक्षा अधिकारीहरूको भनाइ छ ।
प्रदेश सरकारले आगामी दिनमा पनि सुरक्षा निकायको आवश्यकता र कार्यक्षेत्रका आधारमा थप साधन उपलब्ध गराउने जनाएको छ ।


