महोत्तरी, ०८ असोज । भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै महोत्तरीमा बाढी, डुबान र नदी कटानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उद्धार टोलीदेखि राहत सामग्री र हेभी उपकरणसम्म तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालयले असोज ९ गतेदेखि ११ गतेसम्म देशका अधिकांश भू–भागमा मेघगर्जन र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान रहेको जनाएको छ । यसको प्रत्यक्ष प्रभाव महोत्तरीमा समेत पर्न सक्ने भन्दै प्रशासनले सम्भावित विपद् रोकथाम तथा प्रतिकार्यका लागि तत्काल आवश्यक तयारी गर्न स्थानीय तहहरूलाई आग्रह गरेको हो ।

प्रशासनका अनुसार वर्षाका कारण जिल्लाका रातु, राँके, बडहरी, जंघा, मरोहालगायत नदी तथा खोलामा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने जोखिम छ । नदीको बहाव बढेसँगै कटान तथा सहरी र ग्रामीण क्षेत्र डुबानमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त बस्तीको पहिचान गरी पूर्वतयारी गर्न भनिएको छ ।

जिल्ला प्रशासनले नदी, खोला तथा डुबानको जोखिममा रहेका तटीय र संवेदनशील बस्तीमा तत्काल माइकिङमार्फत सूचना प्रवाह गर्न निर्देशन दिएको छ । स्थानीय सञ्चारमाध्यमबाट समेत मौसम, बाढी तथा डुबानसम्बन्धी सूचना निरन्तर सम्प्रेषण गर्ने व्यवस्था मिलाउन प्रशासनले स्थानीय तहलाई आग्रह गरेको छ ।

सम्भावित उद्धारका लागि लाइफ ज्याकेट, लाइफ ब्वाय, डोरी, रबर बोट वा डुंगा, बन्चरो, स्ट्रेचर, टर्चलाइटलगायत खोज तथा उद्धार सामग्री दुरुस्त अवस्थामा राख्न भनिएको छ । सडक तथा बाटोघाटो अवरुद्ध भए तत्काल खुलाउन आवश्यक पर्ने जेसीबी, एक्साभेटर, लोडरलगायत हेभी उपकरणलाई चौबीसै घण्टा परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ राख्नसमेत निर्देशन दिइएको छ ।

बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले सम्भावित आश्रयस्थलसमेत पूर्वपहिचान गर्नुपर्नेछ । सामुदायिक भवन, विद्यालय तथा पक्की सार्वजनिक स्थललाई आवश्यकताअनुसार आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी खानेपानी, सरसफाइ र विद्युत्को व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

प्रभावित परिवारका लागि आवश्यक पर्ने चिउरा, दालमोठ, बिस्कुट, तयारी खाना, त्रिपाल र म्याट्रेसलगायत आकस्मिक राहत सामग्री अग्रिम रूपमा भण्डारण गर्नसमेत निर्देशन दिइएको छ ।

सम्भावित विपद्पछि पानीजन्य तथा संक्रामक रोग फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह मातहतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राख्न भनिएको छ । स्वास्थ्य संस्थामा आवश्यक औषधि, जीवनजल, एन्टिबायोटिक तथा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको हो ।

त्यसैगरी स्थानीय विपद् व्यवस्थापन समिति तथा वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक र स्थानीय युवालाई समेटेर द्रुत प्रतिकार्य टोली गठन तथा परिचालन गर्न भनिएको छ ।

विपद्को समयमा सुरक्षा निकायसँग निरन्तर समन्वय कायम गर्न पनि प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समन्वय गर्दै कुनै घटना भएमा वा जोखिमको अवस्था देखिएमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई तत्काल जानकारी गराउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि नै सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई समेत आवश्यक तयारी अवस्थामा राखेको जनाएको छ । सशस्त्र प्रहरीलाई उद्धार टोली तयारी अवस्थामा राख्न तथा नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि महोत्तरी प्रशासनले विपद् आउनुअघि नै स्थानीय तहको स्रोतसाधन परिचालन र उद्धार राहत संयन्त्रलाई तयारी अवस्थामा राख्न जोड दिएको हो ।