दार्चुला, २५ भदौ । दार्चुलामा बाढीपहिरोमा परी मृत्यु भएका ५ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको हो ।

दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको छ ।

यस्तै, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर–१ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ ।
पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको करिब डेढ दर्जन घरहरू बगेका छन् । डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चार जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए । यस्तै, बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।

खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।

दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चारवटा जीप महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

जिल्लाका बाढीपहिरो पीडितका लागि राहत लग्न लागिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए । उनका अनुसार राहत बोकेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत हुँदै दार्चुला जानका लागि तयारी अवस्थामा रहेको छ ।