जनकपुरधाम, २४ भदौ । अभद्र व्यवहारको मुद्दामा गिरफ्तार गरिएका एक युवकलाई धनुषा प्रहरीले हिरासतमै कुटपिट गरी यातना दिएर घाइते बनाएको आरोप लगाइएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिकाका–१ बस्ने श्याम यादवका १८ वर्षीय छोरा धिरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवाकक्षमा प्रहरीले नै कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएका हुन् ।

गत भदौ १२ गते आइतबार वडा नम्बर–१ मुसहरनिया टोलमा सांस्कृतिक कार्यक्रमको क्रममा दुईपक्षबिच झडपमा भएको थियो । सोही घटनामा स्थानीय संजय साह, विनोद साह, उपदेश महतो, रंजित महतो र सिकिन्दर यादवले धिरज यादव, रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई कुटपिट गरेको स्थानीय लक्ष्मेश्वर यादवले बताए ।

घटनापश्चात संजय साहले उल्टै धिरजलाई पक्राउ गर्न लगाएको र भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा संजयले नै अभद्र व्यवहारको मुद्दा दिएको उनले जानकारी दिए ।

त्यसपछि प्रहरीले घटना आरोपमा धिरजलाई पक्राउ गरेको थियो । सोही क्रममा बिहिवार राति थुनुवाकक्षमै उनलाई प्रहरीले कुटपिट गरेको उनले बताए । धिरजको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

अस्पताल भर्ना भएका पीडित धिरजले बिहिवार राति करिव ९ बजे आफूलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।

प्रहरीले सोही घटनामा संलग्न रहेको भन्दै मुखियापट्टी मुसहरनिया गाँउपालिकाका–१ का युवाहरु रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि गिरफ्तार गरेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवाकक्षभित्र धिरजलाई प्रहरीले कुटपिट गरेको कुरालाई अस्विकार गरेका छन् । उनले थुनुवाकक्षभित्र सीसीटिभीसमेत जडान भएकोले प्रहरीमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे ।

अस्पतालमा उपचार गराईरहेका घाइते यादवलाई भेट्न नेपाली कांग्रेसका नेता एवम् मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, पार्टी सभापति योगेन्द्र पजियार, प्रदेश सदस्य जीवनाथ चौधरी सहितका नेता कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।

उनीहरुले घटनाको निश्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।