काठमाडौं, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पष्टीकरण दिएका छन् ।

पोखरा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा कुनै चर्चा पनि नभएको र आफ्नो कुनै दाबी नरहेको बताए

‘अहिले हामीले प्रधानमन्त्रीको कुनै चर्चा गरेका पनि छैनौँ र अहिले अगाडि नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा गठबन्धन छैन, म पनि छैन,’ प्रचण्डले भने ।

गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको उल्लेख गर्दै आज भोलि नै शीर्ष नेताहरूको बैठकले सहमति जुटाउने दाबी गरे ।

उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोर्याए । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाइ छ ।