गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्यो : ईश्वर पोखरेल

काठमाडौं, २४ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताए ।
पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।
उनले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको पनि बताए । पोखरेलले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट बिवाद गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।
उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे । पोखरेलले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हित, स्वाभिमान विपरीत रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी पनि गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । उनले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


