काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो ।

पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

यस्तै विकास बैंकहरुलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले जानकारी दिए ।

सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहो¥याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने नेपालले बताए ।

बैंकमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए ।

सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।