फोहोर व्यवस्थापनमा जनकपुरका मेयर असफल !

जनकपुरधाम, २२ भदौ । गत जेठ १० गते सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने पहिलो निर्णय गरेका थिए । नगरप्रमुख साहले जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरेका थिए ।
उपमहानगरभित्र विगतमा सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अबउपरान्त नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरेका थिए ।
फोहोर व्यवस्थापनका लागि उपमहानगरका सबै वडा कार्यालयलाई ट्याक्टर र सरसफाइ कर्मचारी उपलब्ध गराइने निर्णय पनि नगरप्रमुख साहले गरेका थिए । तर, उनी निर्वाचित भएको १०० दिन बितेपनि नगरभित्रको फोहोर जस्ताको त्यस्तै छ । नगरको अधिकांश क्षेत्र अहिलेपनि दुर्गन्धित नै देखिन्छ । फोहोर व्यवस्थापनतर्फ न त उपमहानगरलाई कुनै चासो छ न कुनै वडाका वडाध्यक्षलाई ।
स्मार्ट सिटीको आशामा बसेका जनकपुरधामबासी अहिले नगरक्षेत्रभित्रको दुर्गन्धले आजित बनेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगरक्षेत्र दुर्गन्धित बन्दै गइरहेको हो ।
फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि व्यापारीले आफ्नो पसलबाट निस्कने फोहोर सडक किनारमा फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोरसमेत उपमहानगरले नउठाउँदा समस्या बढेको देखिन्छ ।
जनकपुरधामको प्रमुख चोकहरू पुरानो बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पुलचोकसहितका स्थानहरूमा फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिन थालिएको छ ।
जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले शहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए । उनले भने, ‘शहरको सुन्दरतासँग हाम्रो यो मेयर साहबलाई पनि कुनै मतलब छैन, नगरलाई सुन्दर बनाउने कुनै योजना पनि छैन ।’
बर्षाैँदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आए पनि सुनुवाइ भने अहिलेसम्म भएको छैन । स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
स्मार्ट सिटीको परिकल्पना गरेको जनकपुरधाम बजारमा दुर्गन्ध बढ्दै गएपनि उपमहानगरपालिकाको ध्यान नगएको बताउँदै अर्का स्थानीय गुडु पाण्डेयले भने,‘चुनाव जितेपछि जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने मेयर साहबले वाचा गरेका थिए । तर, उनको त्यो वाचा अझै पानामै सिमित छ ।’ उपमहानगरले फोहोर नउठ्दा प्रदेशको राजधानीकै चोक चोकमा थुप्रो जम्मा भएको छ ।
जनकपुरधाममा च्याउझैँ सञ्चालन गरिएका औषधि पसलहरूले समेत सरसफाइ अभियानलाई चुनौती दिँदै सहर कुरूप हुने गरी फोहोर जथाभावी फाल्दा नगरक्षेत्रभित्र दुर्गन्ध फैलाउन थालेका छन् ।
प्रादेशिक अस्पताल रोडमै औषधि पसल र क्लिनिकबाट निस्किएका मेडिकलजन्य फोहोर र सिरिन्ज जथाभावी रूपमा फालिएका देखिन्छन् ।
यहाँका औषधि पसल, निजी क्लिनिक र अस्पतालहरूले प्रयोगमा ल्याइसकेका मेडिकलजन्य फोहोर जथाभावीबीच सडकमै फाल्दै आएकोले सडक भएर हिँड्ने यात्रु बढी मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा उदासिनता देखाएको नगरवासीको गुनासो छ ।
यस सम्बन्धमा नगरप्रमुख साहले सम्भवतः भोलीसम्ममा कम्तीमा पनि ५ वटा वडामा ट्याक्टर हस्तान्तरण गरिने बताएका छन् ।
उनले उपमहानगर ट्याक्टर खरिद प्रक्रियामा गाईसकेकोले पहिलो चरणमा ३÷४ दिनभित्र २ वडाभित्र एउटा सवारी साधन उपलब्ध गराइनेसमेत जानकारी दिएका छन् ।
नगरभित्र क्षेत्र अहिलेपनि दुर्गन्धित नै छ त भन्ने सवालमा उनले जनकपुरधामको सरसफाइका लागि नगरवासीको सहयोग पनि अपरिहार्य रहेको बताए । मेयर साहले अनावश्यक रुपमा फोहोर नगर्न नगरवासीलाई आग्रहसमेत गरेका छन् ।
यता, वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साहले वडा कार्यालयको सम्पूर्ण खर्च, इन्धन, बाटो मरम्मत, सरसफाइलगायतको शीर्षकमा प्रत्येक वडालाई वार्षिक मात्र ८ लाख १४ हजार रुपैयाँ छुटुयाइएकोले काम गर्न थोरै कठिनाई भइरहेको बताए । उनले अब प्रत्येक वडामा कम्तीमा २ जना नगरप्रहरी र सरसफाइ कर्मचारी आवश्यक रहेकोसमेत बताए ।
वडाध्यक्ष साहले ट्याक्टर खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेकोले केही दिनभित्रै ट्याक्टर खरिद भई वडा वडामार्फत नगरभित्रको सरसफाइको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


