बच्चा चोरी गर्न लागेको आरोपमा तीन भारतीय महिला पक्राउ

पर्सा, २२ भदौ । पर्सा प्रहरीले बच्चा चोरी गर्न लागेको आरोपमा तीनजना भारतीय महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसा रहेकी छन् ।
स्थानीयले बच्चा चोर्न खोजेको भन्दै हो–हल्ला गरेपछि प्रहरीले उनीहरुलाई वीरगञ्जको छपकैयाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षा र थप अनुसन्धानका पक्राउ गरिएको जानकारी दिए ।
उनले भने, ‘बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा हो–हल्ला गरेका थिए । उनीहरुको सुरक्षा र थप अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’
पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले प्रहरीलाई दिएका थिए ।
स्थानीयले उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


