काठमाडौं, २१ भदौ । लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागुऔषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले मंगलबार पत्रकार सम्मेलन गर्दै १६–२० भदौको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हिरोइन, लागुऔषध गाँजा र नियन्त्रित लागुऔषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरूको साथबाट खैरो हिरोइन २८७.५ ग्राम, नियन्त्रित लागुऔषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए ।

त्यसैगरी लागुऔषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै, पार्सलको रूपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे ।

पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध ऐनअनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए ।

उनीहरूको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागुऔषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।