चुनावका लागि मनोनयनपछि संसद रहँदैन : अध्यक्ष प्रचण्ड

धनगढी, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकले केही प्राविधिक समस्याका करण यस्तो सोचेको भए पनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे । उनले ४ मंसिरको चुनावका लागि मनोनयनपछि संसद नरहने बताए ।
उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन । त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने की भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने कि भन्ने कुरा फिर्ता हुन्छ ।’
अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशा अनुरूपको काम गर्न नसकेको स्वीकार गरे । उनले बाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए ।
उनले देशमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाए । गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे ।
अध्यक्ष दाहालले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभामा कांग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको बताए । उनले नेकपा माओवादी ६०, एकीकृत समाजवादी २५, जनता समाजवादी पार्टी ले २५ सिटको आसपासमा सिट पाउने गरी गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने बताए ।
फरक प्रसंगमा अध्यक्ष दाहालले निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकूल नरहेको दाबी गरे । उनले यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गर्दै निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताए ।
उनले यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने ठोकुवा गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसके मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


