काठमाडौं, २१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् ।

मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

नेपाल प्रेस युनियनसम्वद्ध पत्रकार ले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । उनले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए ।

मन्त्री कार्कीले गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए ।

मन्त्री कार्कीले गठबन्धनभित्र आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पारे ।