जनकपुरधाम, २० भदौ । नेपाली कांग्रेसले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

उक्त क्षेत्रबाट थापालाई कांग्रेसले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

क्षेत्रीय कमिटीको बैठकले गगनको नाम सर्वसम्मत रुपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पार्टीका प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।

यसअघि महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा नपरेपछि सर्लाहीबाट उनको एकल नाम सिफारिसमा परेको छ ।

काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ ।

प्रधान क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि हुन् । उनी गत १४औं महाधिवेशनमा गगन थापाको समूहबाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

यता, आफ्नो नामबारे अन्य क्षेत्रमा चर्चा चलेपनि आफूले काठमाडौं ४ नछाड्ने थापाले बताएका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ सर्लाही क्षेत्र नम्बर–४ को (२) बाट मन्त्री सिंहको नाम सिफारिस गरिएको छ ।