मोरङ, २० भदौ । ‘जापान पठाईदिन्छु’ भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई उनी सम्पर्कविहीन भएकी थिइन् ।

मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।