वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियारको छापा

जनकपुरधाम, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ ।
अख्तियारले वृहत्तरमा आइतबार पाँच घण्टा लामो छापामा हानेर केही योजनाका फाइलहरु नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको अख्तियारका प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिए ।
उनले आयोगमा विभिन्न उजुरीहरु परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरु माग गरिएकोसमेत बताए ।
वृहत्तरले जानकी मन्दिरमा गरेको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि यसअघि पनि अख्तियारले छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । सो मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको छ ।
वृहत्तरले काम नै नगरि मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारहरुलाई भुक्तानी दिएको, प्राविधिकले मूल्यांकन भन्दा बढी रकम निकासा गरेको लगायत गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरीहरु परेका छन् ।
वृहत्तरका कार्यकारी अधिकृत वलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराइ बेचेको कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


