काठमाडौं, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् ।

आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी कार्यलयमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिनाकुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए ।

उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहकेो औंल्याए ।

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै उनले निजामती कर्मचारीले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।

उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निजामति कर्मचारीलाई निर्देशन दिए ।