सुनसरी, १९ भदौ । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ ।

रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेपछि भएको आलोचनालाई बिर्सिएर सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम सिफारिस गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।

भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए । मुद्दा दर्ता भएपछि सम्पर्क विहीन भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर भएका थिए । र उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

गत मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा गच्छदारलाई देउवाले आफ्नै प्यानलबाट उपसभापतिको उम्मेदवार बनाएका थिए । तर गच्छदार पराजित भएका थिए ।