बारा, १९ भदौ । मधेस प्रदेशको बारा जिल्लामा डाँका समूह र प्रहरीबीच झडप भएको छ । डाँकालाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच गोली हानाहान भएको हो ।

सो क्रममा प्रहरीले दुईजना डाँकालाई पक्राउ गर्न सफल भएको छ ।

शनिबार राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

राति करिब १ बजेको समयमा ११ जनाको डाँका समूह एरोटेक प्रालि पुगेका थिए । इलाका प्रहरी कार्यालय जितपुरका एसपी कमलबहादुर शाहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिन प्रहरीको टोली पुगेको थियो ।

डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको बताइएको छ । डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो ।

प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए । डाँका समूहले वरिष्ठ सईको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन् । उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ ।

घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

डाँका समूहका दुईजना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिकाको वडा नम्बर–१० बस्ने ४० वर्षीय जवाहिर महतो पक्राउ परेका हुन् ।

प्रहरीसँग झडपको क्रममा महतो घाइते भएको र उनको अल्पाईन अस्पाताल सिमरामा उपचार भइरहेको छ ।

फरार भएका अन्य ९ जना डाँकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।