जनकपुरधाम, १८ भदौ । नेकपा माओवादी केन्द्र सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेशले विधान तथा सम्मेलन कार्यविधि र वैचारिक/शैक्षिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व शिक्षामन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले शैक्षिक माफियाकरणविरुद्ध संघर्ष आवश्यक भएको भन्दै त्यसका लागि सम्पुर्ण शिक्षकहरु संगठित हुनु जरुरी भएको बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका मधेस प्रदेश अध्यक्ष भुपनारायण अधिकारीको अध्यक्षतामा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले राजनितीक र सामाजिक विसंगति विरुद्ध संघर्ष गर्न क्रान्तिमा जोडिन आवश्यक भएको बताए ।

उनले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु विरुद्ध देशभक्त शिक्षकहरुलाई संगठनमा आबद्ध भई कडा संघर्ष गर्न आह्वान गरेका छन् ।नेता पोखरेलले आगामी मंसिरमा हुनलागेको निर्वाचनमा पार्टीपंक्तिलाई सहयोग गर्न शिक्षकहरुसँग आग्रहसमेत गरे ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनको धनुषा जिल्ला अध्यक्ष धर्मेन्द्र कुमार यादवले विस्थापित शिक्षक, बाल विकास शिक्षक र विद्यालय कर्मचारी लगायतका सम्पूर्ण शिक्षकहरुको माग र मुद्दाको बारेमा सरकार र पार्टीपंक्तिको खुलेर आलोचना गरेका थिए ।

पूर्वमन्त्री पोखरेलले विस्थापित शिक्षकहरुसँग अन्याय भएको कुरा स्वीकार गर्दै सरकारसँग चाँडै सल्लाह गरेर शिक्षकहरुको मुद्दा सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरे ।