रुपन्देही, १८ भदौ । दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

२०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने ३४ बर्षीया बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका–७ बस्ने काशीराम मुराउ पक्राउ परेका हुन् ।

अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए । शव गलिसकेको अवस्थामा अर्यालको शव भेटिएको थियो । उनको दुई वर्षअघि नै अन्त्येष्टि गरिएको थियो ।