निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाको दाबी

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।
‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिनभित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे । महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँड टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए ।
उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौँ । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिन पछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’
महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाई’ गठन गर्ने बताए । उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाईको आवश्यक्त रहेको पनि स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


