बारा, १७ भदौ । बारा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन रहेका छन् ।

आफ्नो २५ वर्षीया श्रीमती सहनाज खातुनको हत्यामा सैमोदिनको संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको अनुसन्धानसहितको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन गरेको थियो ।

सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएका थिए ।

प्रहरीले बिहीबार नै उनीहरुलाई पक्राउ गरेर ल्याएको थियो । दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।