विराटनगर, १७ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

जसपाले अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरु बताउँछन् ।

यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।

मोरङ ५ आउने चर्चा भएपनि उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने विषयमा स्पष्ट रहेको उनका छोरा तथा जसपा विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले बताए ।

२०७४ सालको निर्वाचनमा मोरङ ५ मा माओवादी केन्द्रबाट शिवकुमार मण्डल निर्वाचित भएका थिए । उनी पुन टिकटको दाबेदार हुन् । काङ्ग्रेसबाट अमृत अर्याल पनि टिकटको दाबेदार छन् ।

नेकपा एमालेबाट योगेन्द्र मण्डल टिकटको एकल दाबेदार छन् ।