काठमाडौं, १५ भदौ । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको काठमाडौं फनपार्क प्रालिले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ ।

फनपार्क प्रालिले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर नतिरेको पाइएको हो ।

फनपार्कले विगत ७ वर्षदेखि कर नतिरेको पाइएपछि काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सम्पूर्ण कर तिर्न पत्र काटेको छ ।

बुधबार महानगरको राजस्व विभागले फनपार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न ताकेता गरेको हो ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा तोकिएको समयमा कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने उल्लेख छ ।

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टाभित्रै बक्यैता र जरिबाना रकम तिर्न जानकारी गराइन्छ’ पत्रमा भनिएको छ, ’तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’