काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए ।

सचेतक विश्वकर्माले महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले सामान्य रूपमा लिएको पनि बताए ।

उनले प्रधानन्यायाधीश जबराले राजनीतिक रूपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाईं लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताए ।

जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिएको बताए ।