जनकपुरधाम, १५ भदौ । मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा प्रदेशका ८ वटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो ।

गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैयाँ बराबरको भारतबाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरी आवश्यक कारवाहीका लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिए । त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

स्रोत नखुलेको १७ लाख ८२५ रुपैयाँ बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याइएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।

त्यस्तै ६ लाख ६१ हजारको चौपाया, ८ लाख १६ हजार बराबरको अवैध काठ बरामद गर्नुका साथै ५ हजार ५ सय थान विभिन्न प्रकारको लागुऔषध र ७६० किलोग्राम गाजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको सक्रियताले विगतको भन्दा तस्करी कम हुंदै गएको दाबी गरिएको छ ।