रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा मंगलबार बिहान चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ ।

जिल्लाको गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषाकुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रूपेशकुमार सिंहले बताएका छन ।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिए । चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।

खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।