बुटवल, ११ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडल, सहरी विकास मन्त्री मेटमणि चौधरीलगायतको उपस्थिति थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको थियो ।

आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको हो । बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।

अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी र बैठक गर्न मिल्ने गरी सम्मेलन केन्द्र निर्माण गरिएको हो । रामनगरस्थित बुटवलमण्डपमा ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा केन्द्र निर्माण गरिएको छ ।

सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोड रुपैयाँ लागतमा सम्मेलन केन्द्र बनाएको हो । केन्द्रमा मुख्य सभा हलसहित करिब २ हजार मानिस अट्ने १३ वटा हल छन् । एक हजार जना अट्ने मुख्य सभा हलको गौतम बुद्ध नाम दिइएको छ ।

सम्मेलन केन्द्रमा राष्ट्रिय झण्डाको चन्द्र सूर्य आकारका २ वटा भवन छन् । चन्द्र आकारमुनि २ वटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चार वटा प्रवेशद्वार बनाइएको छ ।