जनकपुरधाम, १० भदौ । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवले धनुषाको क्षेत्र नम्बर ४ (क) बाट चुनाव लड्ने घोषणा गरेका छन ।

यादवले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा आफू क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटकको निर्वाचनमा आफू प्रदेशसभामा चुनाव लड्ने तयारीमा जुटेको बताए ।

उनले भने, ‘मैले विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको छु । २०६३ सालदेखि मधेशी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय रुपमा भूमिका निर्वाह गरेको छु । यसपालि चुनाव लड्ने निर्णय गरेको छु ।’

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा जिल्ला सदस्य बनेका नेता यादव संघीय समाजवादी पार्टी नेपालदेखि जसपासम्म जिल्ला अध्यक्षदेखि तराई मधेश प्रदेश समितिका सचिवको जिम्मेवारी सम्भालिसकेका छन् । हाल उनी जसपाका प्रदेश उपाध्यक्ष हुन ।

पार्टीले मात्र नभई क्षेत्रका आम जनमासबाट समेत आफूलाई प्रदेशसभाका उम्मेदवार बन्न चौतर्फी दबाब आउन थालेपछि उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–३ बनिगामा बस्ने नेता यादवले पछिल्लो संविधान सभा, संघ, प्रदेश र दुई/दुई पटक स्थानीय तहको निर्वाचनमा पाएको जिम्मेवारी अनुसार तात्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा जसपाबाट सबै उम्मेदवारलाई जिताउन सफल भूमिका निर्वाह गरेका छन ।