काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको लोकप्रियताका कारण गठबन्धनका अरु दल डराएको दाबी गरेका छन् ।

एमालेले स्थानीय तह निर्वाचनमा पाएको मत देखेर गठबन्धनका दलहरु डराएको र संख्या बढाउन लागिरहेको उनले दाबी गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘स्थानीय निर्वाचनमा एमालेले पाएको मतसँग तर्सिएर अहिले गठबन्धनमा संख्या थप्दैछन्,’ उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने समयमा भने, ‘सात पुगिसक्यो । तर, एमाले एक्लै सफल हुन्छ । यो आत्मविश्वासका साथ एमाले चुनावमा जान्छ ।’

उनले पाँच दलको गठबन्धनले अहिले मुलुकमा संकट पैदा गरेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । यसअघि एमाले पोलिटब्यूरो बैठक बसेको थियो ।