राष्ट्रिय परिचयपत्र लिन सास्ती : प्रजिअलाई छैन चासो, सहायक प्रजिअ हप्काउँछन्

जनकपुरधाम, १० भदौ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा देशको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले नेपाली नागरिकका लागि राष्ट्रिय परिचयपत्र बहुउपयोगी मानिन्छ । विकास र समृद्धिको मुद्दालाई मूर्त रुप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त बनाउँदै प्रविधिमैत्री वातावरण तयार गर्न पनि राष्ट्रिय परिचयपत्रको व्यवस्था गरेको छ । तर, सरकारका प्रशासनीक अंगहरुको व्यवहार भने फरक देखिन्छ ।
घटना हो आज शुक्रबारको । जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गण अघिपछिको जस्तै शुक्रबार पनि धेरै भिडभाड देखिन्थ्यो । विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए । प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरु लाइनमा उभिरहेका थिए । सरकारले बाध्यकारी व्यवस्था गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउन आउनेको भिड बाक्लै थियो ।
त्यही भिडमा थिए धनुषाको हंसपुर नगरपालिका–९ बस्ने बस्ने धिरेन्द्र पासवान । उनलाई सोमबार मलेशिया जानुपर्ने छ । त्यसका लागि भिसा र टिकेट पनि उनले पाइसकेका छन् । अन्तर्राष्ट्रिय यात्राका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकोले उनी कागजातसहित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा उभिएका थिए । यस्तो घाममा पनि यतिको लामो समयदेखि तपाईं यहाँ किन उभ्नुभएको छ भनी सोध्दा उनले प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारी र कर्मचारीको कार्यशैलीले आफूलाई धेरै गाह्रो भएको बताए ।
उनलाई तुरुन्तै राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने आवश्यकता भएकोले उनी बिहान ७ बजे नै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यालय समय सुरु भएसँगै उनी निकै उत्साहित थिए तर उनको त्यो उत्साह धेरैबेरसम्म टिक्न सकेन । उनले त्यहाँका एकजना कर्मचारीलाई सोध्दा उनलाई तुरुन्तै राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने भए कोठा नम्बर ११ मा जान भनियो । उनी खुसी हुँदै कोठा नम्बर ११ मा बस्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको कार्यकक्षमा पुगे । उनको कार्यकक्षमा जाँदा सहायक प्रजिअ भण्डारी फोनमा व्यस्त थिए । ५ मिनेटसम्म फोनमा कुराकानी गरे पश्चात भण्डारीले उनलाई के काम छ? किन त्यतिबेलादेखि मेरो अगाडिमा उभेको भन्दै धिरेन्द्रलाई हप्काए । सहायक प्रजिअ भण्डारीको अगाडि उनकै केही परिचित व्यक्तिहरु कार्यालयको सोफामा आरामले बसिरहेका थिए । उनी फेरि तिनीहरुसँग गफिन थाले ।
धिरेन्द्रले सर मेरो काम गर्दिनुस न भन्दा उनले फेरि ल ल्याउ छिटो भन्दै उनको हातबाट फाइल समाते । सम्पूर्ण कागजात हेरिसकेपछि भण्डारीले तिम्रो भिसा, टिकेट र अन्य कागजातहरुमा त्रुटि छ । अब थप काजजात ल्याउ भन्दै उनलाई त्यहाँबाट फर्काएर उनी पुनः सोफामा बसेका व्यक्तिहरुसँग मज्जाले गफिन थाले ।
धिरेन्द्र सहायक प्रजिअसँग काम हुँदैन, अब प्रमुख जिल्ला अधिकारीसँग नै भेटेर आफ्नो काम हुन्छ कि भनी सोचेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको सहायक प्रजिअको अगाडिमै रहेको कार्यकक्षमा प्रवेश गर्न खोजे । उनलाई प्रजिअको सुरक्षामा रहेका एकजना प्रहरी जवान खेमबहादुर ढुंगेलले गेटमै केरकार गर्न थाले । उनले सबैथोक पहिला मलाई भन्नुस त्यसपछि मात्र भित्र जाने कुरा गर्नुहोला भन्दै धिरेन्द्रलाई रोके । त्यतिबेलासम्म प्रजिअसँग भेट्न अन्य दर्जनौं व्यक्तिहरु पनि गेटमा उभिएका थिए । सबैसँग ति प्रहरी जवानले झर्केरै कुराकानी गरिरहेका थिए ।
धेरैबेरपछि धिरेन्द्रलाई भित्र जान बाहिरबाट ति प्रहरीले निर्देशनात्मक आदेश दिए । उनले धिरेन्द्रलाई ल ल छिटो जानुस्, २ मिनेट भित्रै फर्किनुहोला भन्दै आदेश दिए । धिरेन्द्रलाई अति आवश्यक भएकोले उनले थप केही कुरा नबोलि प्रजिअको कार्यकक्षमा प्रवेश गरे । भित्र प्रजिअलाई आफ्नो सम्पूर्ण कागजात देखाए । प्रजिअले उनको कागजात हेरिसकेपछि यो हुँदैन, मिल्दैन, बाहिर सहायक प्रजिअकोमा जानुस् भन्दै उनलाई त्यहाँबाट पनि फर्काइदिए । धिरेन्द्र अक्क न बक्क भए । उनी जिल्ला प्रशासन कार्यालयमा सामान्य कामको लागि पनि टेबलै टेबलसम्म कुदेपनि अन्तोगत्वा उनको काम भएन ।
धिरेन्द्र प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता सयौंजना व्यक्ति त्यहाँ ओझेलमा थिए । घण्टौं लाइनमा उभिएपनि कसैको काम भईरहेको थिएन । तर, कार्यालय बाहिर रहेका बिचौलियाहरुमार्फत पैसा तिरेर काम गराउन खोज्नेहरुको काम एकछिनमै हुने गरेको देखिन्थ्यो ।
धिरेन्द्र भन्छन् ‘सरकारी कामका लागि ढुक्क हुन सकिन्न, सरकारी काम कहिले जाला घाम जस्तो गर्ने प्रवृति छ, अब कति दुःख पाइने हो थाहा छैन । मलाई सोमबार नै जानुपर्ने छ ।’
उनले सरकारी अधिकारी र कर्मचारीलाई जनताको समयको मतलब नै नरहेको आफूले प्रत्यक्ष देखेको बताए । उनले भने, ‘एउटा सामान्य कामको लागि पनि मैले यस्तो ठुलो ढिलासुस्ती कतै देखको थिइन । झन उपल्लो पदमा बस्ने व्यक्तिको बोली सुनेर साह्रै दुःख लाग्यो ।’
राष्ट्रिय परिचयपत्र बनाउन आएका सेवाग्राहीलाई कर्मचारीले एकदेखि डेढ महिनापछिको पालो दिन्छन् । त्यसपछि बिचौलियाको खेल त्यहीँबाट सुरू हुन्छ ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । सहज रुपमा राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा नागरिकले सास्ती खेप्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


