सिरहा, १५ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा मंगलबार भएको सवारी दुर्घटनामा एक अपरिचित वृद्धको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.१क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सडकमै अव्यवस्थित रूपमा लाग्ने हाटबजारका कारण उक्त दुर्घटना भएको हो । भीडभाडयुक्त सडक पेटीमा हिँडिरहेका बेला ट्रकको पछाडिको चक्काले किच्दा वृद्धको ज्यान गएको बताइएको छ ।

हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ ।

स्थानीयवासीहरूले शनिबार र मंगलबार सडकमै लाग्ने अव्यवस्थित हाटबजारका कारण पटक पटक दुर्घटना हुने गरेको गुनासो गरेका छन् । तर, स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान यसतर्फ पर्याप्त रूपमा नपुगेको उनीहरूको आरोप छ ।