जनकपुरधाम, ९ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे तथा बनजंगल संरक्षण अभियानका १५० जना अभियानीलाई प्रहरीले पक्राउ गरेको छ ।

चुरे तथा बनजंगल संरक्षण अभियानको पूर्वनिर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीको कार्यालयमा ताला लगाउन जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

अभियानका प्रदेश संयोजक अमन यादवलगायत अभियानका १५० सदस्यहरूमाथी दमन गरी प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए । लोकतन्त्रमा आफ्नो अधिकारका लागि आवाज उठाउँदा दमन शोषण गरी प्रहरीले नियन्त्रणमा लिनु अशोभनीय रहेको उनको जिकिर छ ।

यादवले पक्राउ परेकाहरू मध्ये १५ जना पुरुष र बाँकी सबै महिलाहरू नै रहेको बताए । उनले केही महिला अभियानीहरूमाथि प्रहरीले लाठीसमेत प्रहार गरेको जानकारी दिए ।

बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे÷नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका छन् ।

चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेस प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गास वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानिय सरकारद्धारा उठीबास लगाउने कार्य वन्द गर्नुपर्नेलगायतका मागसहित विगतदेखि नै पटक पटक आन्दोलन गर्दै आएका छन् ।

उनीहरू निरन्तर ४० दिनदेखि आन्दोलनरत छन् ।