राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्छ : सभामुख भण्डारी

विराटनगर, ९ भदौ । प्रदेश–१ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् ।
बिहीबार प्रदेश–१ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले मानवनिर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
सभामुख भण्डारीले प्रदेश–१ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।
उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए ।
सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्वतयारीका साथ अघि बढ्नुपर्ने बताए ।
उनले नागरिक लाभान्वित हुने गरेर कानुनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


