जनकपुरधाम, ९ भदौ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।

महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।

उनले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको गुनासो गरे । उनले मन्त्रालयले पूर्वमहाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए ।

उनले अहिले रेल्वेमा यात्रुहरूको चाप अत्यधिक रहेको तर अर्को रेल खरिद गर्न कम्पनीसँग पैसा नभएको बताए । उनले अब एक थान यात्रुबाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गरे ।

झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए । उनले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताए । महाप्रबन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए ।

उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा, काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । झाले रेल्वे सञ्चालनले बहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताए ।

झाले आगामी शनिबार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताए । उनले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताए ।