जनकपुरधाम, ०८ असोज । जनकपुरधाममा प्रस्तावित रामजानकी रंगशाला निर्माणको काम यसै आर्थिक वर्षदेखि अघि बढाउने गरी बहुवर्षीय बजेट सुनिश्चित गर्ने निर्णय भएको छ ।

रंगशाला निर्माणका लागि प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै निर्माण प्रक्रिया अघि बढाइने भएको हो ।

धनुषा–३ का सांसद मनिष झाले जनकपुरधामको विकास र यहाँका युवाको आवश्यकतालाई केन्द्रमा राखेर रामजानकी रंगशाला निर्माणको प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए ।

झाका अनुसार रंगशाला निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित हुनु जनकपुरधामका युवाका लागि महत्वपूर्ण उपलब्धि हो ।

उनले भने, ‘यसै आर्थिक वर्षबाट रामजानकी रंगशाला निर्माण गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले लगानी हुनेछ । यो जनकपुरधामका युवाप्रति गरिएको अर्को प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढेको हो ।’

यससँगै जनकपुरधाममा अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराउने कामसमेत सुरु भएको झाको भनाइ छ ।

सार्वजनिक सम्पत्तिको संरक्षणसँगै जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियालाई समेत अगाडि बढाइएको झाको भनाइ छ ।

जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सम्पदा संरक्षणका कामलाई प्राथमिकतामा राखिएको उनले बताए ।

रामजानकी रंगशालाको निर्माण, सार्वजनिक जग्गाको संरक्षण तथा जनकपुरधामका सम्पदाको संरक्षण र विश्व सम्पदा सूचीकरणको पहललाई एउटै विकास प्रक्रियाका रूपमा अघि बढाइएको सांसद झाले बताए ।

रंगशाला निर्माणका लागि बहुवर्षीय बजेटको सुनिश्चिततासँगै अब निर्माणको भौतिक प्रक्रिया अघि बढ्ने विश्वास गरिएको छ ।